ताप्लेजुङ   ।   ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ।

मृतक अंशुमानका ठूला बुवा कृष्ण गुरुङ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार मे १ च ७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव ४०\५० मिटर तल खसी दुर्घटना भएको थियो।

दुर्घटनामा चालक कृष्णका भाईका छोरा अंशुमनको मृत्यु भएको र सवारी चालक कृष्णको दायाँ आँखाको डिलमा चोट रहेको प्रहरीले बताएको छ।

गाडाीमा सवार दुबै जनालाई घटनास्थलबाट उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा ५ बर्षे बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत प्रहरीले जनाएको छ।