काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि सत्ताधारी दल समेत रहेको नागरिक उन्मुक्ति पार्टीले विरोध जनाएको छ ।

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन् । उनीहरूले मंगलबार साँझ माईतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति बिरोध जनाए।

फैसलाको विरोध गर्न नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर मण्डला पुगेका थिए । उनीहरूले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।

त्यसअघि टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गर्दै आज जन्मकैदको फैसला सुनाएको थियो ।

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको हो । इजलासले यही प्रकरणमा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ ।