काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तस्कर गर्ने चालकलाई ढुवानीमा सधैंको लागि बन्देज गरेको छ ।
निगमसँग करार सम्झैता भई बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको ट्यांकरले २० किलोलिटरभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरेको पुष्टि भएपछि निगमले कारबाही गरेको हो ।
लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट वैशाख ८ गते इन्धन तस्करी भएको पुष्टिपछि पेट्रोलियम पदार्थको ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधनसहित) गरी कारबाही गरिएको हो ।
चालकलाई निगमको सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैंका लागि बन्देज लगाउने निर्णय गरिएको छ । निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ट्यांकर/ट्रकको ढुवानी भाडा समेत रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने निर्णय गरिएको छ ।
विनियमावली अनुसार ३ महिनाको लागि निलम्बन गर्ने समेत निर्णय भएको जनाएको छ ।
निगमका अनुसार भैरहवा नाकाबाट भन्सार पासको क्रममा शंका लागेपछि प्रहरी र भन्सार कार्यालयले ट्यांकरलाई नियन्त्रणमा लिएका थिए ।
निगमको कर्मचारीसहित भलवारी डिपोमा ट्यांकर जाँच गर्दा स्वीकृत पीडीओ २० किलोलिटरभन्दा बढी पेट्रोल भेटिएको थियो । स्वीकृत कोटाभन्दा ३ हजार ३ सय ८३ लिटर बढी देखिएको थियो ।
त्यसपश्चात् प्रहरी, भन्सार र निगमका कर्मचारीसहित मुचुल्का बनाएर ट्यांकर नियन्त्रणमा राखिएको थियो ।
आइतबार भने कारबाही नै गर्ने निर्णय गरेको हो । उक्त ट्यांकर एक्सप्रेस परिवहन सेवा प्रालिको हो । प्रालिका सञ्चालक चोपनारायण श्रेष्ठ हुन् ।
उनी पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका वरिष्ठ सल्लाहकारसमेत हुन् । श्रेष्ठ संघको पूर्वअध्यक्ष पनि हुन् । श्रेष्ठकै ट्यांकर विगतमा पनि तस्करीमा प्रयोग भएको पाइएको थियो ।
जानकारका अनुसार भैरहवा सीमा क्षेत्रमा नेपालभन्दा भारततिर इन्धन सस्तोमा पाइन्छ । फरक मूल्यकै कारण तस्करी भएको हो ।






































