मोरङ  ।   सीमा क्षेत्रमा चोरी तस्करीका घटना बढेसँगै कोशी प्रदेश अन्तर्गत नेपाल-भारत सीमा क्षेत्रमा लामो समयदेखि खटिएका सशस्त्र प्रहरी युनिटलाई फिर्ता बोलाउन थालिएको छ।

दुई साताअघि झापाबाट भएको  स्याउ तस्करीमा संगलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल बराह १ नं बाहिनी पकलीले सीमा सुरक्षा गुल्म घेराबारी झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्मा र बीओपी केचना झापाका सशस्त्र प्रहरी निरीक्षक वकिल कुमार धानुकलाई फिर्ता बोलाएर कारबाही थालेको सि स्याउ केशमा सशस्त्र प्रहरीले ५ जनामाथि कारबाही गरेको छ ।

शर्माको ठाउँमा सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभात कुमार गौतम र धानुकको ठाउँमा सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बस्नेतलाई पठाउँदै सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले अन्य ११ जनामाथि कारबाही प्रक्रिया सुरु गरेको बताएको छ ।

कोशी प्रदेशका नेपाल भारत सीमा जोडिएका बोर्डर आउट पोस्टमा लामो समयसम्म एउटै युनिट खटिँदा तस्करी बढेको गुनासो आएपछि उक्त युनिटहरु परिवर्तन गरिएको सशस्त्र प्रहरी बल बराह बाहिनी कोशीका प्रमुख प्रहरी नायब महानिरीक्षक अञ्जनी पोखरेलले बताएका छन ।

यस्तै बीओपी नक्कलबन्दा झापामा सशस्त्र प्रहरी नायव निरीक्षक ऋषिराम खत्रीको ठाउँमा सशस्त्र प्रहरी नायव निरीक्षक माधव खत्रीलाई खटाइएको छ । बीओपी आमगाछी झापामा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक पुरनलाल राजवंशीको ठाउँमा सशस्त्र प्रहरी नायव निरीक्षक आशकुमार कुमाललाई खटाइएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टामा ७० जनाको टोली परिवर्तन गरिएको छ । अर्को प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका ७८ जनालाई फिर्ता बोलाइएको छ।

कोशी प्रदेश अन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम तस्करिको लागि ट्रान्जिट पोइन्ट नै बन्दै आइरहेको छ।  विशेष गरि तस्करिले विभिन्न नाका प्रयोग गरि कपडा, गाडिको पार्टस, लागू औसध, लोकल बजारमा र काठमाण्डौ सम्म विभिन्न ट्रान्सपोर्ट प्रयोग गरि पुर्याउने गरेका छन।

लामो समयसम्म सीमा सुरक्षार्थ एउटै गुल्ममा खटिएका अधिकृतसहितको टोलीलाई समेत फिर्ता बोलाएर सो ठाउँमा नयाँलाई जिम्मेवारी दिइएको पोखरेलले जानकारी दिएका छन ।

पोखरेलका अनुसार बीओपी बसन्तपुर सुनसरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाटको टोलीलाई फिर्ता बोलाएर सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद विकलाई पठाइएको छ ।

बीओपी दरैया मोरङका २१ जनाको टोलीलाई पनि परिवर्तन गरिएको छ । बीओपी बसन्तपुर सुनसरीका २० जना र बीओपी अमडुवा सुनसरीका १८ जनालाई समेत परिवर्तन गरिएको पोखरेलले जानकारी दिएका छन ।

कार्य सम्पादन सन्तोषजनक नभएका सात जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई तराईका बीओपीबाट पहाडी गुल्ममा पठाइएको छ ।

सीमा सुरक्षालाई मजबुत बनाउन पहाडी गुल्मबाट तराईका बीओपीहरुमा ६० जना जनशक्ति थप गरिएको डीआइजी पोखरेलले बताएका छन ।

बाहिनीले मातहतका बीओपी तथा सुरक्षा बेसहरुमा कार्यरत रही सन्तोषजनक काम नगर्ने सशस्त्र प्रहरी कर्मचारीलाई त्यहाँबाट झिकाइ कारबाही स्वरुप सुधारोन्मुख तालिम दिन सुरु गरेको जनाएको छ ।

उक्त तालिममा झापा, मोरङ र सुनसरीका विभिन्न गणका २ सय सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सहभागी गराइएको छ ।

यसैबीच सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न भारतसँग सीमा जोडिएको सुनसरीको ६३ किलोमिटर क्षेत्रमा सुनसरी प्रशासनले विशेष अभियान चलाएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको सुरक्षा समितिले सीमा क्षेत्रबाट हुने चोरी तस्करी र आपराधिक गतिविधि रोक्न नियमित अनुगमन, समन्वयात्मक छलफल र प्रचारप्रसार लगायत कार्यक्रमलाई तीव्रता दिएको छ ।