काठमाडौं । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्स (नाइन एन एबीटी)को विमान काठमाडौं फिर्ता भएको छ ।

आज बिहीबार बिहान ६ः३३ बजे उडेको विमान ६ माइल टाढा पुगेपछि ककपिटको दाहिने ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काएर सकुशल अवतरण गराइएको विमानस्थलले जनाएको छ ।

१६ जना यात्रु लिएर उडेको विमान केहीसमयमै काठमाडौंमै अवतरण गराइएको थियो । विमानमा देखिएको समस्या पहिचानका लागि प्राविधिकहरु जुटेको विमानस्थल कार्यालयले जनाएको छ ।