भैरहवा  ।   सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् ।

मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ ।

स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरी रहन्थे ।

सोही क्रममा उनी आज बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुगेका थिए । एक जना स्थानीयको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताए ।

मृतकको आमा पनि पछिपछि जानुभएको थियो, मेरो छोराको मानसिक अवस्था ठीक छैन भन्दाभन्दै पनि उनीहरूले कुट्न छोडेनन्, यादवले भने भारतीयको कुटपिटबाट उहाँको मृत्यु भयो ।

मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ । रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विश्वकर्माले घटना जानकारीमा आएको र यसबारे थप अनुसन्धान भइरहेको बताए।