काठमाडौं । राष्ट्रियसभा सदस्य कमला पन्तले ५०० र हजार रुपैयाँका नोटलाई ब्यान्ड गर्नुपर्ने माग गरेकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले यस्तो माग गरेकी हुन् ।

अर्थतन्त्र उकास्नका लागि ५०० र हजारका नोटहरू प्रतिबन्ध गर्नुपर्नेमा उनले जोड दिइन् । उनले सधैँभरि बिरालो बाँधेर श्राद्ध गर्नेतिर जान नहुने भन्दै सरकारले गर्न सक्ने काम मात्र उल्लेख गर्न आग्रह गरिन् । किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले बताइन् ।

OM Sai Pathibhara Hospital

किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजस्व संकलनको समस्या के हो ? किन भएन राजस्व संकलन ? भन्सारमा भएको चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्ने कुरामा म विश्वास गर्दिनँ । बोरामा बाँधेका पैसाहरूलाई, ५०० र हजारका नोटलाई ब्यान्ड गरौँ । यदि, हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्न सके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक र रुन्चे कुरा हुन्छ ?