रौतहट । भन्सार कर्मचारीकै मिलोमतोमा रौतहटमा तस्करी उत्कर्षमा पुगेको बेला तस्करी आरोपमा गौर भन्सार कार्यालयका प्रमुखमाथि अख्तियारले अनुसन्धान गरिरहेको बुझिएको छ।
भारतबाट आएको सामान गौर भन्सार भएर कर्मचारीकै मिलोमतोमा तस्करी हुने गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख वासुदेव नेपालविरुद्ध अनुसन्धान गरेको हो। यसबारे नेपालसँग बुझ्दा अख्तियारले सोधेको र त्यसको जवाफमा आफूले चिठ्ठि पठाएको स्वीकार गरे।
गत बैसाख ७ मा गौर भन्सार भएर भित्रिएको करिब ८ लाखको कपडा मकवानपुरको हेटौँडामा पक्राउ परेको थियो।
यसै गरी चैत ४ गते शनिवार काठमाडौँ जाँदै गरेको ८ लाख ३५ हजार रुपैया बराबरको कपडा गौर भन्सारभन्दा ४२ किलोमिटर उत्तर चन्द्रनिगाहपुरमा पक्राउ परेको थियो।
गत माघको पहिलो हप्तामा गौर भन्सार कार्यालयको सिसिटिभीमा दुई जना सशस्त्र प्रहरीले सेवाग्राहीसित रकम र गुटका लेनदेन गरेको फुटेज सशस्त्र प्रहरी मुख्यालय पुगेको थियो।
भन्सार कर्मचारीकै मिलोमतोमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि तस्करहरुलाई सहयोग गर्ने गरेको रहस्य बाहिरिएको थियो। सीमावर्ती गौर र बैरगनिया क्षेत्रका पचास भन्दा बढी महिलाले दुवैतिर सामान तस्करी गर्ने गरेको र भन्सार कर्मचारीले दश÷बीस रुपैया प्रति खेप उठाउने गरेको देखिएको छ।
उठाएको रकम सोझै कार्यालय प्रमुख नेपालसम्म पुग्ने गरेको भन्सारकै कर्मचारीहरु बताउँछन्।
भन्सार राजस्व वृद्धि गर्ने नेपाल सरकारको लक्ष्य रहेको भए पनि गौर भन्सारका कर्मचारीहरु भने घरायसी सामान किनेर ल्याउनेलाई सताउने गरेको र हरेक दिन कैयौँपटक तस्करी गर्ने मानिसहरुलाई भने कर्मचारीहरुले नजरअन्दाज गर्ने गरेको पाइएको छ।
भारतबाट आउने चारपाङ्ग्रे गाडीलाई भन्सार तिर्न खोज्दा बढी पैसा असुल गर्ने गरेको पनि गुनासो रहेको छ। नेपाली बोल्न नजान्ने भारतीय नागरिकलाई गौर भन्सारका कर्मचारीले जानीजानी बढी दुःख दिने गरेको र बढी रकम असुल गर्ने गरेको गुनासो रहेको छ।
भारत लखौराका पवन सहनीले गौर भन्सार कार्यालयमा निकै दुःख पाएको बताउँदै पाँच सय रुपैयाको रसिद दिएर छ सय रुपैया असुल गरेको बताउँछन्।
भारतीय नागरिकसित कम्तीमा पचास रुपैया भारु खाजानास्ता भनेर भन्सारका कर्मचारीहरुले माग्ने गरेको गुनासो रहेको छ।
गौर भन्सारको बेथितिको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुनासो पुगेपछि अख्तियारले भन्सार प्रमुख नेपालसित लिखित जवाफ लिएको बुझिएको छ।
भन्सार स्रोतका अनुसार अख्तियारले कागजपत्र पनि माग गरेको छ। यस विषयमा भन्सार प्रमुख नेपालसित सम्पर्क गर्दा विदामा रहेको र स्वास्थ्य पनि ठिक नभएको प्रतिक्रिया दिएका छन्।