काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले संगठनभित्रका १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को एकैपटक सरुवा गरेको छ। प्रधान कार्यालय, हलचोकले बिहीबार सरुवा सूची सार्वजनिक गर्दै सम्बन्धित अधिकृतहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।
प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवाको निर्णय गरिएको हो। सरुवासम्बन्धी निर्णय आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने जनाइएको छ।
सरुवा भएका डीएसपीहरूले हाल कार्यरत कार्यालयबाट प्रचलित नियमअनुसार तलब, भत्ता तथा राशन सुविधा प्राप्त गर्दै नयाँ कार्यस्थलमा हाजिर भई जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, जिम्मेवारीको सन्तुलित बाँडफाँट तथा प्रशासनिक व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको एपीएफ स्रोतले जनाएको छ।









































