काठमाडौं । पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका अर्का व्यवसायी प्रदीप रुङ्गटालाई पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ।
चितवन बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ ।राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् ।चितवनमा सडक बन्दमा पूर्व-पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन।
शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वानमा नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन्।
कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत सेयर भएका प्रदीप रुङ्गटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।
परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ ।
जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् । नेपाली कांग्रेस चितवनले आज दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौंविसकोठीमा एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने जनाएको छ ।