काठमाण्डौ । सदस्यहरुले बचत रकम फिर्ता माग्न थालेपछि सप्तदिप बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका संचालकहरु सहकारीको कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन्।
कार्यालयमा कुनै पनि सुचना नटांसी सम्पर्क बिहिन भएको सहकारीका बचतकर्ताहरुले बताएका छन् ।
विगत १५ दिनदेखि कार्यालयमा ताला लगाएर संचालकहरु सम्पर्कविहिन भएपछि सदस्यहरुले सोमबार कार्यालय अगाडी धर्ना दिएका थिए।
दैनिक रुपमा बचत गर्दै आएको पैसा नपाएपछि धर्ना दिएको बचतकर्ता लक्ष्मी मल्लले बताईन । सानो व्यवसायबाट जम्मा गरेको रकम सहकारीमा बचत गर्दै आएपनि संचालकहरु नै सम्पर्क विहिन भएपछि विचल्लीमा परेको मल्लले बताईन ।
अर्का बचतकर्ता सिता घिमिरेले बचत रकम फिर्ता गर्ने भन्दै संचालक समितिले टोकन दिएको र सोहि टोकन लिएर सहकारीमा जांदा कार्यालयमा ताला लगाईएको बताईन।
कार्यालयका कर्मचारी फर्सुराम ढकालले कार्यालयका विषयमा आफुलाई धेरै जानकारी नभएको बताए ।
संचालकहरु सम्पर्क विहिन भएपछि पचास हजार देखि पांच लाखसम्म बचत गरेका बचतकर्ताहरुले इलाका प्रशासन कार्यालय अगाडी समेत धर्ना दिएका थिए ।






































