काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् ।

पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् ।


पक्राउ पुर्जी जारी भएका हरिभक्त  न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन्।


हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएको छ ।


केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरुको खातामा नगद डिपोजिट गरेको बयान दिएका थिए । 

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा पक्राउ परेका सागर  मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् । सन्देश शर्मा  चैत २९ मा पक्राउ परेका थिए ।

वैशाख २० मा सचिव टेकनारायण पाण्डे र वैशाख १९ मा पूर्व गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका हुन् ।

आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।