काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ लिएको विषयमा रायमाझीको संलग्नताबारे चासो राखेका छन्।
प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले निर्दोष फसाउन खोजिए आफूहरुले नसहने चेतावनी दिए । साथै उनले दोषीलाई भने कारबाही हुनुपर्ने बताए। निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने भन्दै ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास होइन, तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ।’
यसबारे आफूहरुले पनि अध्ययन गरिरहेको जानकारी दिएका ओलीले भने, ‘यो तानिएको हो कि तनाएको हो, यसको हामीले अध्ययन गर्दै छौँ। निर्दोष पर्न हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास होइन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ। चेक जसले काट्यो, उसैसँग रहेको जस्ता कुरा छ । एउटा सांसद, पटक पटक मन्त्री भएको, उपप्रधानमन्त्री भइसकेको, पार्टीको नेता, षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु पर्ने रहस्यपूर्ण छ । भागेर र उम्केर जानेखालको मान्छे होइन।
विहिवार विहान करिव ८ वजे प्रहरी स्रोतले रायमाझी पक्राउ परेको र बुधवार साँझ पक्राउ परेका उनका छोरासँगै काठमाण्डौं ल्याउने तयारी भईरहेको थियो। तर, त्यसको केही समयपछि नै प्रहरीको बोली फेरियो। त्यसपछि प्रहरीले रायमाझी सम्पर्क नभएको वताउन थालेको छ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीलाई जोगाउन दौडधुप थालेपछि प्रहरीले बोली फेरेको हो। ओलीकै दौडधुपपछि भैरहवाबाट प्रहरीको नियन्त्रणमा आएका रायमाझीलाई सम्पर्क विहिन वताईएको स्रोतको दावी छ।
स्रोतका अनुसार उनी प्रहरी नियन्त्रणमा भएपनि हिरासतमा राखिएको छैन। वहालवाला सांसद र एमाले सचिव रहेका कारण उनलाई प्रहरीले उनलाई भिआईपी सरह राखेको जनाईएको छ। त्यसैले उनलाई सम्पर्क विहिन वताईएको स्रोतको दावी छ।
यस विचमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल समेतलाई भेटेका छन्। सितिमिति दाहाललाई भेट्न आफु नजाने ओली विहिवार आफै सिंहदरबार पुगेका थिए। उनले दाहालसँग लामो संवाद गरे। तर, दाहालले दोषीलाई कुनै हालतमा नछाड्ने जवाफ ओलीलाई फर्काएको स्रोत वताउँछन्।
त्यसपछि उनकै योजना अनुसार अन्य आरोपी सरह प्रहरी हिरासतमा नराख्ने र हतकडी नलगाउने सहमति भएको हुनसक्ने वताईएको छ। सोही कारण रायमाझी प्रहरी नियन्त्रणमै रहेपनि प्रहरी अधिकारीले औपचारिक जानकारी गराएका छैनन् ।
शरणार्थीका नाममा ठगी धन्दा चलाउन गिरोह सक्रिय रहेका बेला टोपबहादुर ऊर्जामन्त्री थिए । उनले ६० लाख रुपैयाँ नगदै वुझेको रेकर्ड भेटिएको प्रहरीले जनाएको छ। त्यति बेलाका गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई सोही प्रकरणमा मंगलबार पक्राउ परिसकेका छन । तत्कालीन गृहसचिव तथा उपराष्ट्रपति कार्यालयका वहालवाला सचिव टेकनारायण पाण्डेले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
प्रहरी हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईले दिएको बयानका आधारमा अरु तानिएका हुन। ठगी प्रकरणका विषयमा काठमाडौं प्रहरीमा १०६ जनाले २० वटा छुट्टाछुट्टै जाहेरी परेका छन । ती जाहेरीमा २३ करोड ९९ लाख रुपैयाँ ठगी भएको उल्लेख छ ।






































