काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नक्कली शरणार्थी प्रकरण र आर्थिक संकट ओली सरकारले दिएको उपहार बताएका छन्।
बुद्ध जयन्तीको तयारीका लागि लुम्बिनी पुगेका मन्त्री किरातीले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वका राज्यकोषको दोहन भएको बताएका हुन् ।
लुम्बिनीमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले भने ओली सरकारका पालामा जनताको आवश्यकता र समृद्वि लक्षित कार्यक्रम भन्दा पनि राज्यकोषको दोहन र भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहित गरियो त्यही आज नेपाली जनताले खेप्नु परेको छ ।
त्यस्तै मन्त्री किरातीले ओली सरकारले पहाडहरू भत्काएर टावर ठड्याएको आरोपसमेत लगाए । दुर्गमका जनता सिटामोल खाना पाउँदैनन् ओली सरकारले पहाडहरू भत्काएर भुरे टाकुरे टावर ठडाएर कार्यकर्तालाई भ्रष्टाचार गर्न मात्रै प्रेरित गरेनन्, प्राकृतिक स्रोत र रैथाने संस्कृतिसमेत ध्वस्त पारे ।
जहाँबाट कमिसन आउँछ त्यही अन्धाधुन्ध बजेट छुट्याएको उपज यो आर्थिक संकट हो । त्यति मात्रै हैन, ओलीकै पालामा नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काम भयो । अहिले त्यो पुष्टि हुँदै जाँदैछ।
अहिलेको अनुसन्धान सुन तस्करी प्रकरणको जस्तो नरोकिने पनि उनले बताए । हामीले पाएको यो अवसर अन्तिम हो भन्ने सम्झेर काम गर्नुपर्छ । नत्र जसले गणतन्त्र ल्यायो उसैको हातबाट जान सक्छ । सबै परिवर्तन जनताले बचाउने हो । जनता यतिबेला निराश छन् हामीले आशामा बदल्नु पर्छ । हामीले ल्याएको व्यवस्था जोगाउने परीक्षामा छौँ।