झापा । काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको मोटर पार्टस र इलेक्ट्रिक सामानसहित निन्दा पुलबाट गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल मेचीनगर नगरपालिका ७ स्थित निन्दा पुल नजिकै विशेष सुराकिको आधारमा सवारीसाधन चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट भएको डब्लू बी ७४ एटी ३९४० को मारुती सुजुकी गाडीको डिक्कीबाट एक लाख ८९ हजार ५० रुपैयाँ मुल्य बराबरको मोटर पार्टस र इलेक्ट्रिक सामान बरामद गरेको छ।
गाडीभित्र रहेको समानको भन्सार प्रज्ञापन पत्र, सुविधा तथा इजाजत पत्र समेत फेला नपारेपछि गाडीसहित सामान जफत गरिएको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय कोसी प्रदेश सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिएका छन ।
बरामद गरिएको सामानसहित गाडीको १५ लाख रुपैयाँ मूल्याङ्कन तोकेर १६ लाख ८९ हजार ५० रुपैयाँ मुल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको उनले बताए ।
पछिल्लो समयमा सीमा नाकाबाट हुने चोरी तस्करीमा डीआइजी पोखरेलले सक्रियता बढाएसँगै सशस्त्र प्रहरीले धमाधम भन्सार छलीका सामान बरामद गर्न थालेको छ ।
यो गाडीले केही समयदेखि निरन्तर सामान तस्करी गरेको सूचना सशस्त्रलाइ प्राप्त भएको थियो। लामो प्रयत्नपछि फेला पारिएको हो । यसअघि पनि यही कारभित्र चाँदी भित्र्याइएको सूचना सशस्त्रले पाएको थियो ।
करिब १६ लाख ९० हजार रुपैयाँ बराबरको कार र सामान मेची भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जानकारी दिएको छ।