काठमाडौं  ।   प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। संसद सचिवालयले उनलाई निलम्बन गरेको हो। 

प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई कोइरीबारे आइतवार जानकारी गराएको थियो। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी बिरामी भएको भन्दै बिदाको प्रस्ताव गरेका थिए। तर, सत्तारुढ दलका सांसदले आपत्ति जनाएपछि उनी फरार सूचीमा रहेकोबारे नयाँ नियमावली बनेपछि जानकारी नआएको घिमिरेले बताएका थिए। 

OM Sai Pathibhara Hospital

यसअघि पुस ७ गते पनि कोइरीको बारेमा प्रहरीले संसदलाई पत्राचार गरेको थियो। शपथ नै रोक्नुपर्ने भन्दै प्रहरीले संसदलाई पत्र लेखेको भए पनि त्यतिबेला उनलाई शपथमा रोकटोक भएन। शुक्रवारको संसदको घटनापछि कोइरीबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराइएको थियो।

२०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग लागेका कोइरी फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी भएर विजयी भएका थिए। 

विकको हत्या अभियोगमा सुरुमा जिल्ला अदालतले कोइरीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश गरेको थियो। उच्च अदालत जनकपुरले भने २०७७ मा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो। अदालतको आदेश कार्यान्वयन नभइ कोइरी अहिले फरार छन्। 

फरार अवस्थामा रहेका उनले संसदलाई २०७९ माघ २५ गतेदेखि बिरामी परेकाले बिदा स्वीकृतका लागि निवेदन पठाएका थिए। कोइरीले अधिवेशनमै दुईवटा निवेदन पठाएका थिए। 

शुक्रवार अधिवेशन अन्त्यका क्रममा उक्त बिदाको जानकारी स्वीकृतका लागि पेस भएसँगै विवाद भएको थियो। नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तावको विरोध गरेका थिए।FB_IMG_1683032800922