झापा । झापा जिल्ला देखि सीमा क्षेत्रसम्म तैनाथ रहेको सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको आइतबार राती सशस्त्रले स्याउ र गाडी नियन्त्रणमा लिएसगै घटनाको खुलासा भएको छ।
उक्त नाकाबाट भन्सार छलेर विगत देखि ठूलो परिणाममा चाइनिज स्याउ भारत तस्करी भइरहेको सूचना सशस्त्र प्रहरी नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले थाहा पाए सगै घटना बाहिर आएको हो।
पूर्वीका सीमा नाकाहरूबाट हुने चोरी तस्करी रोकथाम तथा नियन्त्रणमा अभियाननै चलाएका डीआइजी पोखरेलले कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको सूचना आइतबार मात्र थाहा पाएका थिए।
सूचना पाए लगत्तै डीआइजी पोखरेलको ठाडो निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले कचनकवल–४ स्थित पूर्वी लोदावारि नाकाबाट आइतबार करिब बेलुका ८ बजे मे १ ज २८०४ नम्बरको पिकअपमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजि स्याउ बरामद गरेको थियो।
फुजि स्याउसहितको गाडी लोदावारि नाकाबाट कादोगाउँ हुँदै भारत लैजाने तयारी थियो। दुई वटा गाडीमा स्याउ लोड गरिएको थियो। एउटा गाडी त्यहाँबाट सशस्त्रले भगाइदिएको स्रोतको दाबी छ। सो नाका प्रयोग गरि नेपालबाट भारत स्याउ जाने र भारतबाट कपडा आउने गरेको छ।
डीआइजी पोखरेलले सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापालाई थप अनुसन्धान गर्न लगाएको थिए। सोमबार डीआइजी पोखरेल समेत घटनास्थल पुगेका थिए।
अनुसन्धानका क्रममा कचनकवल–४ पूर्वी लोदावारिस्थित जयनारायण साहको गोदाममा ठूलो परिणामको स्याउ फेला परेको थियो । शाहको गोदाम सीमा पिलर ११८ र ११९ भित्र ८०/९० मिटर नेपाल भारत सिमाना नजिकै पर्छ।
डीआइजी पोखरेलले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीलाई सोमबार घटनास्थलमा बोलाएर राजश्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शाहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद गरेको छ। बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्व बुझाएको डीआइजी पोखरेलले बताएका छन। सशस्त्रले प्रति कार्टुन १७ सय मूल्यांकन तोकेर बुझाएको फुजि स्याउको नेपाली बजार करिब मूल्य ४२०० सय रुपैयाँमा बिक्रीबितरण हुने गरेको छ।
जिल्लाको सीमा नाकाहरूबाट भित्राइएको खाद्यान्न सामग्री समेत नछाड्ने झापा सशस्त्र र नेपाल प्रहरीले कचनकवल नाकाबाट चाइनिज स्याउको लाइन चलेको पत्तै नपाउनु घटनाले सर्वत्र चर्चा पाउन थालेको छ।
स्याउको लाइन चलाउनेहरुले एउटा कार्टुन नेपालबाट भारत पुर्याए बापत २५० रुपैयाँ कमिसन लिने गरेको बताउछन।
उनीहरूले सशस्त्र प्रहरी बल नेपाल सीमा गुल्म घेरावारिका डीएसपी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर, सीमा प्रहरी चौकी केचनाका सई, सशस्त्रका पुराना घुमुवालगायत समेतलाइ सेटिङ मिलाउनुका साथै जिल्लालाइ समेत लाइन खर्च बुझाएर काम गरेको स्याउ कारोबारी बताउछन।
सो लाइन मिलाउने क्रममा काङ्रेसका नेता समेत जोडिएको कुरा खुल्नमा आएको छ। सशस्त्र डीआइजी पोखरेलले भने, ‘स्याउ तस्करीमा मिलेमतो रहेको पाइएमा बिओपी इन्चार्जमाथि छानबिन हुन्छ, छानबिनमा मिलेमतो भएको पाए कारबाहीको दायरमा ल्याउँछु।`
सशस्त्रले बरामद गरेको स्याउ राजश्वलाई बुझाएको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्य बताएका छन।
राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोली पुगेर स्याउ जफत गरी ल्याएको बताउँदै उनले भने, ‘सीमा नाकामा गोदाम राख्नु नै शंका उब्जिएको छ, स्याउका बारेमा छानबिन गरी अनुसन्धान अघि बढाउने बताएका छन।
डीआइजी अञ्जनीकुमार पोखरेलले चाइनिज स्याउ तस्करी घटनाको बारेमा बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका छन्। एसपी हुमागाईँ नेतृत्वमा खटाइएका टोली मंगलबार नै झापामा आएर छानबिन सुरु गरेको डीआइजी पोखरेलले जानकारी गराए ।