काठमाडौँ । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन्। प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापावाट विनोद विकलाई पक्राउ गरेको हो। उनी शनिवार पक्राउ परेका हुन।
कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो।
प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो, उनी काठमाडौंमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए।
नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफान्तजनले शनिवार मात्रै काठमाडौंमा प्रदर्शन गरेका थिए भने सरकारले शुक्रबार मात्रै बिशेष छानबिन समिति गठन गरेको थियो।
कपनको भाँडा पसलमा नीरा पाण्डे आचार्यको हत्या गरी भागेका झापाको धुलावारीका विनोद विश्वकर्माले मृतकको गहना वेचेको सुन पसल प्रहरीले पत्ता लगाएको छ।
हत्यामा विनोदकै संलग्नता रहेको निष्कर्षसहित उनलाई प्रहरीले झापाबाटै पक्राउ गरेर काठमाडौं ल्याउँदैछ। निराको हत्यापछि लुटिएका सुनका गहना उनले बालाजुको सुन पसलमा बेचेको पाईएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले वताए। यद्यपी निराले लगाएको एउटा सिक्रि भने प्रहरीले घट्नास्थलमै फेला पारेको छ।
ठमेलको एउटा नाइट क्लबमा वाउन्सर रहेका उनी निराको हत्यापछि गहना लुटेर भाग्दै झापा पुगेको प्रहरीको भनाई छ। हत्या अघि उनले निराको पसलको रेकी गरेको पनि प्रहरीले सीसीटीभी फुटेजबाट पत्ता लगाएको छ।
उनको हत्यारालाई पक्राउ गर्नका लागि गगन थापालगायतले संसदमा पनि आवाज उठाएका थिए । नौ दिन पछि पक्राउ परेका बिकलाई औपचारिक रुपमा आइतवार मात्रै सार्वजनिक गर्ने जनाईएको छ।