काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्याउन आग्रह गरिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको दाबी गरेका थिए ।
आक्रोश पोख्दै ओलीले भनेका थिए, ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फुरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब किताब नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताब गरेका छैनौँ । हिसाब किताब गर्न सुरु गर्न नपरोस्, छोराबुहारी अगाडि सारेर फुरफुर नगर ।
पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको उनको संवाद सचिवालयले जनाएको छ ।
शुक्रबार सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट पारेको हो ।
यसअघि २३ मंसिर २०७८ मा पनि सचिवालयले पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल सञ्चालन नगरेको जानकारी गराइसकेको स्मरण गराएको छ ।