काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको जानकारी दिन एसएमएस सेवा सञ्चालनमा ल्याएको छ ।
बिहीबार एक सूचना प्रकाशित गर्दै विभागले यो सेवा पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको छ।
यसका लागि आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी LC लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ । यसरी एसएमएस पठाउदा आवश्यक जानकारी लिन सकिन्छ ।
यसअन्तर्गत अनलाइन फाराम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा गए/नगएको जानकारी एसएमएसबाटै थाहा पाउन सकिने विभागले जनाएको छ ।
यसका साथै अब यातायात कार्यालयले अनलाइनबाटै पनि उक्त विषयको जानकारी लिन सकिने सुविधा ल्याएको छ।
यसअन्तर्गत तपाईंको लाइसेन्स प्रिन्ट भए/नभएको साथै प्रिन्ट भएको खण्डमा कुन कार्यालय, कहाँ पठाइएको छ भन्ने जानकारी लिन सकिन्छ ।