विराटनगर । विराटनगरमा बिहीबार बिहान एक पुरुषले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् ।
मोरङको लेटाङ नगरपालिका–७ घर भएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले बिहान १०:४० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
आगोले मानिस जलिरहेको देखेपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका हुन् ।
स्थानीयले पानी हालेर शरीरको आगो निभइदिएको प्रहरीले जनाएको छ । साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा पहिचान खुलेको हो।
झोलामा नागरिकतासहित अन्य कागजात पनि भेटिएको प्रहरीले जनाएको छ ।
शरीरमा लागेको आगो निभाएर स्थानीयले उद्धार गर्दै नेपाललाइ उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याका थिए ।
त्यहाँबाट थप उपचारका लागि विराटनगर–२ मा रहेको रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको प्रहरीको भनाइ छ ।
डीएसपी दाहालका अनुसार आगोले शरीरका अधिकांश भाग लगाएको कपडा र जुत्ता डढेको छ। घाइतेको अवस्था गम्भीर रहेको, बोल्नसक्ने अवस्थामा नरहेको छ।
आफ्नै शरीरमा के कीरणले आगो लगाएको भने खुल्न बाँकी छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको डिएसपीले बताएका छन।
प्रहरी स्रोतका अनुसार नेपालको आर्थिक विवाद रहेको हुन सक्ने अनुमान गरेको छ ।