विराटनगर / सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कोशी गाउँपालिका –२ लौकहरीका ४० वर्षीय मनोज यादव र त्रियुगा नगरपालिका –११ बेल्टारका ४६ वर्षीय कर्ण सुन्दास रहेका छन् । 

OM Sai Pathibhara Hospital

हिजो (बुधबार) बेलुका साढे ३ बजे सुनसरीको कोशी गाउँपालिका –२ लौकहरी स्थित मधुवन सडक खण्डमा को २ त ९९६७  नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यादव घाईते भएका थिए । 

घाइते यादवको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

ट्याक्टर चालक कोशी गाउँपालिका –२ का १८ वर्षीय जितेन यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन् । 

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका –११ स्थितमा बेल्टारबाट गाईघाट आउँदै गरेको प्रदेश नम्बर १ –०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दास र त्रियुगा –१३ राई चौकका चालक २९ वर्षीय बिरेन राई घाईते भएका थिए । 

सुन्दासको उपचारको क्रममा न्युरो हस्पिटल विराटनगरमा आज बिहान २ बजे मृत्यु भएको हो । राईको पनि सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।