त्रिशूली / नुवाकोटको पञ्चकन्या गाउँपालिका– ३ राहुटार का सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन ।
पक्राउ गरेसँगै थापाको शवपरीक्षण पोस्टमार्टम का लागि त्रिशूली अस्पतालमा ल्याइएको छ । बा २ख ६५८७ नं को बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका –१ तलाखुमा शव भेट्टिएको थियो ।
हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।
पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिएका छन ।
उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो ।
उक्त बसका चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।