एजेन्सी / अमेरिका र बेलायतमा रहेका एक दर्जनभन्दा धेरै रोहिंग्या समुदायका मानिसले फेसबुकविरुद्ध एक खर्ब ५० अर्ब क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। फेसबुकले रोहिंग्या समुदायमाथिको हिंसालाई बढावा दिएको भन्दै उनीहरूले सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा दायर गरेका हुन्।
सन् २०१७ मा म्यानमारमा रोहिंग्यामाथि भड्किएको हिंसामा अनुमानित १० हजारभन्दा धेरै रोहिंग्या मारिएका थिए। फेसबुकको कम्पनीले मेटाले भने अहिले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। फेसबुकमाथि ‘वर्षौँदेखि घृणायुक्त र खतरानक गलत सूचना प्रचारको अनुमति दिएको आरोप छ।
बेलायतमा रोहिंग्याको प्रतिनिधित्व गरिरहेको ल फार्मले दिएको जानकारीअनुसार फेसबुकमाथि सत्य तथ्यको जाँच गर्ने कर्मचारी नराखेको, समयमा नै सही कदम नचालेको जस्ता आरोप लगाइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सन् २०१३ मा फेसबुकमा राखिएको पोस्टमा भनिएको थियो–हामीले उनीहरूविरुद्ध जसरी हिटलर यहूदीसँग लडेको थियो त्यसैगरी लड्नुपर्छ। अर्को एउटा पोस्ट यस्तो छ– इन्धन खन्याउ र आगो लगाइदेऊ ताकि उनीहरूले छिटै अल्लाहलाई भेट्न सकून्।
फेसबुकमा म्यानमारका २ करोडभन्दा धेरै प्रयोगकर्ता छन्। धेरै मानिसको लागि यो नयाँ सूचना र समाचार पाउने एकमात्र प्लेटफर्म हो।