पन्जाब / नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् ।
आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौँ अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
पाण्डेले आफ्ना प्रतिस्पर्धी धर्मागत काफ्लेलाई ७० मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका छन् । निर्वाचनमा कूल एक सय ६२ मत खसेको मा पाण्डेले ११६ र काफ्लेले ४६ मत पाए ।
अहिले अध्यक्षको लागि मात्रै चुनाव भएको र बाँकी पद र केन्द्रमा पठाउने प्रतिनिधि सहमतिका आधारमा टुंग्याउने निर्णय भएको जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य अर्जुन धरेलले जानकारी दिए ।
अधिवेशनको लागि पार्टी केन्द्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति एवं महासमिति सदस्य सीता अर्याललाई खटाएको थियो ।