जुम्ला / राष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता जुम्ला जाने भएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको एमबिबिएसलगायतका कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति २६ मङ्सिरमा जुम्ला जान लागेकी हुन् ।


OM Sai Pathibhara Hospital

प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला जाने कार्यक्रम तय भइसकेको छ । त्यहाँ एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुने कार्यक्रम छ ।

प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुने जानकारी आएको छ । 

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने ध्येयले वि सं २०६८ मा जुम्ला सदरमुकाम स्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो ।

चिकित्सा शिक्षा आयोगको गत २९ जेठमा सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबीबीएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो  । साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये १५ जना  भर्ना भइसकेका छन् ।


तीमध्ये छात्रा पनि रहेको जनाइएको छ । प्रतिष्ठानमा पहिलोपटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह एमडीको अध्यापन सुरुवात भइसकेको छ ।