बिर्तामोड / बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका झापाको शिवगन्ज स्थायी ठेगाना भएका कृष्ण गोपाल अग्रवाल बल्ल पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न चुडामणि उप्रेती  गोरे समुहका मुख्य सदस्य मानिएका अग्रवाल इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका हुन् ।

त्रिभुवन विमानस्थलबाट आएको ३३ केजी सुन हराएपछि खोजीका क्रममा गोरे समुहको यातनका कारण मारिएका उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका अग्रवाललाई पक्राउ गर्न प्रहरीले कोसिस गर्दै आएको थियो ।

OM Sai Pathibhara Hospital

तत्कालीन छानविन समितिले ठहर गरेको ३८ सय केजी सुन तस्करी र सनम शाक्य हत्यामा संलग्न मानिएका अग्रवाललाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी गरिएका ५० वर्षीय अग्रवाललाई दुई वर्ष अघि नै दुबई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका अग्रवाललाई दुबई सरकारले डिपोर्ट गरेपछि उनलाई नेपाल प्रहरी आफ्नो हिरासतमा लिन सफल भएको हो ।

जिल्ला अदालत मोरङबाट अग्रवाल पक्राउ गर्न पक्राउ पुर्जी समेत जारी भएको थियो । पक्राउ परेका अग्रवाल यतिबेला महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । उनलाई मोरङ प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको वृत्तले जनाएको छ ।