विराटनगर / मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे –२ का २४ वर्षीय राजु मोते, उर्लाबारी नगरपालिका –७ का ३३ वर्षीय किरण थापा मगर र सोही स्थानका ३१ वर्षीय राम कुमार यक्चो रहेका छन् ।
मोतेलाई हिजो बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगरको १ नम्बर ढाँटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मोतेको साथबाट प्रहरीले लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल बरामद गरेको छ ।
त्यस्तै मगर र यक्चोलाई हिजो (शनिबार) बेलुका सात बजे दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले दुहबीबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल बरामद गरेको छ ।