झापा / झापामा लागूऔषध कारोबारीहरू धमाधम पक्राउ परिरहँदा लागूऔषध कारोबार गर्नेहरूले नयाँ नयाँ उपाय लगाउन थालेका छन् । प्रहरीले झापामा लागूऔषध कारोबार नियन्त्रणका लागि भारतबाट लागूऔषध भित्र्याउन नदिन कडा निगरानी गर्दैआएको छ ।
दिनहुँजसो लागूऔषध कारोबारी पक्राउ परिरहेको अवस्थामा प्रहरीको आँखा छल्न कारोबारीहरूले शंका नहोस् भनेर मलद्वारमा लुकाएर समेत लागू औषध ल्याउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिभिन्न खाद्यान्नमा लुकाएर, चुरोटको खोलमा हालेर ल्याउने गरेका लागूऔषध कारोबारीहरूले मलद्वारमा समेत लुकाएर लागूऔषध ल्याउन थालेपछि प्रहरी चकित छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार मेचीनगर बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगरलाई मलद्वारमा लुकाएर ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । पछिल्लो समयमा झापामा ब्राउन सुगरको कारोबारीहरू बढ्दै गएको प्रहरीले बताएको छ ।
शुक्रवार साँझ ५ बजे मेचीनगर– ४ स्थित राईसिङमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गरेको थियो ।
मोटरसाइकल चालक आलेमगरले मलद्वारमा च्यापेर ल्याएको १४ ग्राम ब्राउनसुगर बरामद गरिएको पाठकले जानकारी दिएका छन । थप अनुसन्धानका लागि मोटरसाइकलसहित पक्राउ परेका आलेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।