काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत सरकारमा रहेका रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अनिवार्य उपस्थित हुनुपर्नेछ।
कार्यक्रमको पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म मन्त्रीहरूले सर्वसाधारणका गुनासा, समस्या, सुझाव र अपेक्षा प्रत्यक्ष सुन्नेछन्।
त्यसपछि ६ बजेबाट मन्त्री, केन्द्रीय सदस्य र सांसदबीच नेतृत्व संवाद हुनेछ। नागरिकबाट आएका समस्या तथा समसामयिक नीतिगत विषयमा छलफल गरी पार्टीको धारणा तय गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जनताको आवाजलाई सरकारको नीति तथा कानुन निर्माणसम्म पुर्याउनु र मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउनु हो।
साथै, नागरिक, सरकार, संसद् र पार्टी संगठनबीच समन्वय बलियो बनाउने लक्ष्यसमेत राखिएको छ।






































