कपिलवस्तु । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंहको शव तिलौराकोट सामुदायिक वनमा फेला परेको छ । शुक्रबार घरबाट निस्किएका ६५ वर्षीय सिंहको खोजीमा खटिएको टोलीले आइतबार जंगलभित्र उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट मोटरसाइकल लिएर निस्किएका थिए । घरबाट निस्किएको केही समयपछि करिब साढे ३ बजे उनले आफूनजिकका व्यक्तिलाई फोन गरेर आफू जंगलमा बाटो बिराएको जानकारी गराएका थिए ।

त्यसपछि आफन्त र स्थानीयले उनको खोजी सुरु गरेका थिए । खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगलमा सिंहले प्रयोग गरेको मोटरसाइकल फेला परेको थियो । मोटरसाइकल भेटिएपछि खोजी टोलीले जंगल क्षेत्रमा केन्द्रित भएर व्यापक खोजी अघि बढाएको थियो ।

आइतबार खोजी अभियानका क्रममा जंगलमै सिंहको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार शव भेटिएपछि घटनाको थप अनुसन्धान अघि बढाइएको छ । 

प्रहरीले अहिले सिंह जंगलसम्म कसरी पुगे, मृत्यु कसरी भयो र घटनामा अन्य कुनै कारण वा व्यक्तिको संलग्नता छ कि छैन भन्ने कोणबाट अनुसन्धान गरिरहेको छ । मृत्युको कारणसमेत अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।

उनको शव जंगलमा भेटिएपछि घटना थप रहस्यमय बनेको छ ।