काठमाडौं । विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालसहित विश्वभरका आदिवासी जनजाति समुदायलाई शुभकामना व्यक्त गर्दै पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षणलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको सम्मान स् जीवन र स्वास्थ्यको संरक्षण’ भन्ने नारासहित विश्व आदिवासी दिवस मनाइरहँदा आदिवासी समुदायका मौलिक ज्ञान, परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका जीवनपद्धतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने घिसिङले बताएका छन् ।

उनले आदिवासी जनजाति समुदायका परम्परागत ज्ञान र अभ्यास केवल इतिहासको हिस्सा नभई समाजको मौलिक सम्पत्ति र पुस्तौँको अनुभवबाट निर्माण भएको ज्ञानको भण्डार भएको उल्लेख गरेका छन् ।

घिसिङले विश्व आदिवासी दिवसलाई केवल शुभकामना आदानप्रदान र उत्सवको दिनका रूपमा मात्र लिन नहुने बताएका छन् । उनका अनुसार यो दिन आफ्नो पहिचान, भाषा, संस्कृति, परम्परा र अधिकारको अवस्थाको समीक्षा गर्ने तथा बाँकी चुनौती सामना गर्ने संकल्प गर्ने अवसर पनि हो । उनले आदिवासी जनजातिका अधिकार र पहिचानलाई सम्मान गर्दै मौलिक ज्ञान तथा संस्कृतिको पुस्तान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।