काठमाडौं / इरानले हर्मुज जलमार्ग पुनः सञ्चालनका लागि ओमानसँग नयाँ ढुवानी प्रोटोकलमा सहमति नजिक पुगेको जनाएको छ।

यद्यपि, जलमार्ग पूर्ण रूपमा खुलाउन अमेरिकाले इरानले अघि सारेका सर्तहरू पूरा गर्नुपर्ने अडान तेहरानले दोहोर्‍याएको छ।अल जजिराका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी०का प्रवक्ता सरदार मोहिबीले ओमानसँग भइरहेको प्राविधिक वार्ता र अमेरिकासँग जोडिएका राजनीतिक सर्तहरू फरक विषय भएको बताएका छन्।

उनका अनुसार जलमार्ग पुनः सञ्चालनका लागि अमेरिकाले इरानका मागहरू स्वीकार गर्नुका साथै क्षेत्रीय मामिलामा हस्तक्षेप बन्द गर्नुपर्नेछ। इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग नयाँ समुद्री ढुवानी व्यवस्थाबारे सहमति हुन धेरै नजिक पुगेको जानकारी दिएका छन्।उनले अमेरिकाबाट क्षतिपूर्ति, प्रतिबन्ध हटाउने तथा अन्य सर्तहरू पूरा भएपछि मात्र जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने स्पष्ट पारे।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलघादरले अमेरिकाले इरानविरुद्धका धम्की अन्त्य गर्नुपर्ने, क्षेत्रीय सैन्य गतिविधि रोक्नुपर्ने, नाकाबन्दीमा संलग्न सैन्य शक्ति फिर्ता गर्नुपर्ने, युद्धजन्य क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा इरानी सम्पत्ति फुकुवा गर्दै प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेका छन्।

यसैबीच इरानी राष्ट्रपति मसौद पेजेशकियनले वर्तमान अवस्था वार्तामार्फत समाधान खोज्न उपयुक्त समय भएको बताएका छन्। उनले शान्ति प्रक्रियामा अघि बढ्न तयार रहे पनि इरानले आफ्ना राष्ट्रिय हित र अधिकारमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। पश्चिम एसियामा जारी तनावका बीच विश्वको प्रमुख तेल तथा ग्यास ढुवानी मार्गका रूपमा रहेको हर्मुज जलमार्गको भविष्य अझै अनिश्चित बनेको छ।

यस मार्गको पुनः सञ्चालनलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।