काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय एकताको बलियो आधार भएको बताएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले विविधताबीचको आपसी सद्भाव, सहअस्तित्व र एकताले देशको राष्ट्रिय शक्ति अझ सुदृढ बनाउने उल्लेख गरे।
उनले नेपालको संविधानले सबै समुदायलाई समान अधिकार प्रदान गर्नुका साथै समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको बताए। आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको संरक्षण तथा सम्मान गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना व्यक्त गर्दै समावेशी लोकतान्त्रिक व्यवस्था, राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा सबै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।






































