चितवन । चिठीपत्रको प्रयोग घट्दै गए पनि हुलाक कार्यालयको काम र आम्दानी भने सुस्ताएको छैन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न सेवा शुल्कबाट १ करोड ९ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार हुलाक टिकट बिक्रीबाट मात्रै ५८ लाख ७२ हजार रुपैयाँ उठेको छ भने काउन्टर अटोमेसन, पार्सल, रोयल्टीलगायतका सेवाबाट थप ५० लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार गत आवमा विनियोजित ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ बजेटमध्ये ५ करोड ७७ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ । यसअनुसार कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

सेवा विस्तारतर्फ सरकारले लागू गरेको ‘एक स्थानीय तह, एक हुलाक’ संरचनाअनुसार चितवनका राप्ती, खैरहनी, रत्ननगर, कालिका र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा पालिका हुलाक कार्यालय सञ्चालनमा छन् । भरतपुर महानगरपालिकाभित्र चनौली, जगतपुर र नारायणगढमा तीन हुलाक काउन्टर तथा १२ अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ । कार्यालयमा स्वीकृत ५३ दरबन्दीमध्ये २६ स्थायी र २३ करार गरी ४९ कर्मचारी कार्यरत छन् भने चार पद अझै रिक्त छन् ।

यसबाहेक २२ जना अतिरिक्त हुलाक जनशक्ति कार्यरत छन् । हुलाक कार्यालयले सञ्चार क्षेत्रलाई समेत प्रत्यक्ष सहयोग गर्दै आएको छ । गत वर्ष जिल्लाका ३५ सञ्चारमाध्यमलाई ६० लाख २४ हजार रुपैयाँ लोककल्याणकारी विज्ञापनबापत भुक्तानी गरिएको छ । त्यस्तै १७ एफएम रेडियो नवीकरण, २२ पत्रकारलाई परिचयपत्र वितरण तथा १९ अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गरिएको कार्यालयले जनाएको छ । डिजिटल प्रविधिले परम्परागत चिठीपत्रको प्रयोग घटाए पनि चितवनको तथ्यांकले हुलाक सेवा अझै राजस्व, सञ्चार र सार्वजनिक सेवाको महत्वपूर्ण माध्यमका रूपमा सक्रिय रहेको देखाएको छ ।