काठमाडौं । क्यानडामा आकर्षक रोजगारी दिलाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाललाई काठमाडौंको गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले साउन २४ गते दुलाललाई पक्राउ गरेको जनाएको छ । उनले क्यानडामा रोजगारी लगाइदिने भन्दै एक व्यक्तिलाई विश्वासमा पारेर ३७ लाख रुपैयाँ लिएको तर विदेश पठाउने प्रक्रिया अघि नबढाएको आरोप लागेको छ ।

विदेश जाने सपना देखाएर ठूलो रकम असुलिएको उजुरीपछि विभागले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि काठमाडौंमा खोजी तीव्र बनाएको प्रहरीले दुलाललाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुलाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

विदेशमा रोजगारीको आकर्षक सपना देखाएर लाखौँ रुपैयाँ असुल्ने प्रवृत्तिमाथि प्रहरीले निगरानी बढाइरहेका बेला क्यानडा पठाउने नाममा भएको ३७ लाखको यो प्रकरण सार्वजनिक भएको हो ।