काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र देखिने सानातिना उतारचढावबाट नआत्तिन आग्रह गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई सही बाटोमा डो-याएर गन्तव्यमा पु-याउने दाबी गरे । लामिछानेले राजनीतिक परिस्थितिलाई हवाई यात्रासँग तुलना गर्दै कहिलेकाहीँ मौसमका कारण जहाज हल्लिए पनि त्यसैलाई दुर्घटनाको संकेत मानेर डराउन नहुने बताए ।
सरकारको यात्रामा पनि चुनौती, आलोचना र उतारचढाव आउन सक्ने तर त्यसबाट आत्तिन नहुने उनको भनाइ थियो । उनले सरकार आफ्नो वाचा र प्रतिबद्धताअनुसार अघि बढ्न नसके वा गलत बाटोमा जान खोजे आफ्नै पार्टीले खबरदारी गर्ने स्पष्ट पारे । ‘सरकार बाटो बिरायो भने कान समातेर सही ट्र्याकमा ल्याउने तागत हामीसँग छ’ भन्ने उनको सन्देशले सत्तामा रहेर पनि सरकारको कामकारबाहीमा निगरानी र दबाब कायम राख्ने संकेत गरेको छ । सत्तारुढ दलका सभापति लामिछानेले सरकार बनेको चार महिना मात्रै भएकाले अहिले नै सम्पूर्ण मूल्याङ्कन गर्नु हतार हुने बताए ।
तर सरकारबारे आएका सल्लाह, सुझाव र आलोचनालाई गम्भीर रूपमा लिएर सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए । सरकारको यात्रामा जहाजझैँ कहिलेकाहीँ हल्लावट आउन सक्छ, तर गन्तव्यमा पुग्न नदिने अवस्था आए आफ्नै पार्टीले हस्तक्षेप गर्ने लामिछानेको सन्देश रहेको छ ।






































