काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटनामा पीडितले अहिलेसम्म वास्तविक न्यायको अनुभूति गर्न नसकेको दाबी गरेका छन् । उनले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने माग दोहोर्याएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले ती घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष न्यायिक छानबिन अपरिहार्य रहेको बताएका छन् । उनका अनुसार छानबिनपछि मात्रै घटनाका पीडितले वास्तविक न्याय पाउने अवस्था बन्नेछ ।
पोखरेलले वर्तमान राजनीतिक अवस्थाप्रति समेत तीव्र असन्तुष्टि जनाउँदै ‘देशमा गैरजेनजीहरूको हुकुम चलिरहेको’ टिप्पणी गरेका छन् । यस्तो अवस्थामा उनीहरूबाट सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ हुने उनको दाबी छ ।
उनले जेनजी आन्दोलनका क्रममा षड्यन्त्र भएको हुन सक्ने एमालेको यसअघिको दाबीलाई समेत पुनः अघि सारेका छन् । आन्दोलनका क्रममा भएका घटनाको गहिरो अनुसन्धान नगरी निष्कर्षमा पुग्न नहुने उनको संकेत छ । पोखरेलको पछिल्लो अभिव्यक्तिले जेनजी आन्दोलनका घटनाको छानबिन, पीडितलाई न्याय र वर्तमान राजनीतिक अवस्थालाई लिएर एमालेको असन्तुष्टि फेरि सार्वजनिक रूपमा सतहमा ल्याएको छ ।






































