रामेछाप / पेशाले शिक्षक भए पनि दिलबहादुर अछामीले कृषि क्षेत्रमा उदाहरणीय सफलता हासिल गरेका छन्।

मन्थली नगरपालिका–७ भटौलीस्थित खहरेछेउको बाँझो खोरिया बारीलाई उत्पादनशील बनाउँदै उनले ड्रागन फल खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन्। रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मुगिटारमा अध्यापनरत अछामीले तीन वर्षअघि करिब पाँच लाख रुपैयाँ लगानी गरी ड्रागन खेती सुरु गरेका थिए। दुई वर्षमै लगानी उठाइसकेका उनले अहिले यसबाट नियमित नाफा लिन थालेका छन्।

उनका अनुसार गत वर्ष करिब तीन लाख रुपैयाँ बराबरको ड्रागन बिक्री भएको थियो भने यस वर्ष बिक्री चार लाख रुपैयाँ नजिक पुग्ने अपेक्षा छ। करिब एक रोपनी क्षेत्रफलमा फैलिएको ड्रागन बगैंचामा नियमित स्याहार, मलपानी र गोडमेलका कारण उत्पादन राम्रो भएको उनले बताए। आगामी दिनमा खेती थप विस्तार गर्ने योजना पनि उनको छ। अछामीको कृषियात्रामा परिवारको साथ महत्वपूर्ण रहेको छ। विद्यालयमा अध्यापन गरिरहँदा उनकी श्रीमतीले बारीको हेरचाह गर्ने र घर फर्किएपछि उनी स्वयं खेतीपातीमा जुट्ने गरेका छन्।

छोराछोरीले समेत फुर्सदको समयमा बगैंचाको स्याहारमा सहयोग गर्ने गरेका छन्। ड्रागन खेतीसँगै उनले कागती, आँप, अनार, भुईँकटहर, अम्बालगायतका फलफूल तथा मौरीपालन पनि गरिरहेका छन्। ड्रागनको बीचमा भुईँकटहर खेती गरेर उनले जमिनको प्रभावकारी उपयोग गरेका छन् भने भविष्यमा आँप उत्पादनबाट पनि थप आम्दानी गर्ने योजना बनाएका छन्।

गुणस्तरीय उत्पादनका कारण स्थानीय बजारमा उनको ड्रागनको राम्रो माग रहेको छ। प्रतिकेजी करिब ३०० रुपैयाँमा बिक्री हुने उत्पादन मन्थलीबाट काठमाडौंसम्म पुग्न थालेको छ। औपचारिक कृषि तालिम नलिई आफ्नै अनुभव, अध्ययन र निरन्तर मेहनतका आधारमा सफल भएका अछामीले बाँझो जमिनलाई आयआर्जनको माध्यममा रूपान्तरण गरेका छन्।

उनको सफलताले मेहनत, धैर्य र नयाँ सोचका साथ कृषिमा लागे उजाड जमिनलाई पनि समृद्धिको आधार बनाउन सकिने सन्देश दिएको छ।