काठमाडौं । नेपाली कांग्रेसभित्र बढिरहेको आन्तरिक विवादबीच नेताहरूले पार्टी एकताको सन्देश दिन किसुनजी आश्रमलाई राजनीतिक प्रतीकका रूपमा अघि सारेका छन् । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका कांग्रेस नेताहरू ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रम पुगेर पार्टीको सम्पूर्ण एकताका लागि संकल्प गरेका हुन् ।
आश्रम पुगेपछि पत्रकारहरूसँग कुरा गर्दै खड्काले आफूहरू कुनै गुटगत गतिविधिका लागि नभई पार्टीको सम्पूर्ण एकताका लागि भेला भएको स्पष्ट पारे । उनको छोटो तर अर्थपूर्ण भनाइ थियो, “पार्टीको सम्पूर्ण एकताका लागि हामी भेला भएका हौँ ।”
नेता रामहरि खतिवडाले भने सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएपछि कांग्रेसभित्र पुनःएकताको अवसर सिर्जना भएको बताए । उनका अनुसार पछिल्लो राजनीतिक परिस्थितिले पार्टीलाई विभाजनतर्फ होइन, पुनःएकताको दिशामा अघि बढ्ने मौका दिएको छ ।
खतिवडाका अनुसार जेनजी आन्दोलनपछि किसुनजी आश्रमसमेत सरसफाइको अभावमा रहेको अवस्थामा नेताहरू त्यहाँ पुगेका थिए । आश्रमको सरसफाइसँगै किसुनजीको विचार र आदर्शलाई सम्झेर कांग्रेसलाई समेत एकताबद्ध बनाउने संकल्प गरिएको उनको भनाइ छ ।
कांग्रेसभित्र संस्थापन र इतर समूहबीच मतभेद बढिरहेका बेला नेताहरूको किसुनजी आश्रम भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी विभाजनको सम्भावनासम्मका चर्चा भइरहेका बेला नेताहरूले सार्वजनिक रूपमा एकताको प्रतिबद्धता जनाएका हुन् ।






































