काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय बढेको आन्तरिक विवाद र राजनीतिक अन्योलबीच आज केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।
केन्द्रीय समिति बैठकमा संस्थापन इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन र सर्वोच्च अदालतको पछिल्लो निर्णय मुख्य एजेण्डाका रूपमा रहने भएका छन् । कम्तीमा दुई दिनसम्म चल्ने बैठकले पार्टीभित्र देखिएको पछिल्लो असन्तुष्टि र संगठनात्मक विवादबारे समेत छलफल गर्ने अपेक्षा गरिएको छ ।
संस्थापन इतर समूहले पार्टी नेतृत्वले आपसी एकताका लागि पर्याप्त पहल नगरेको भन्दै साउन २९ गते राष्ट्रिय भेला आह्वान गरेको छ । यही भेला र त्यसबाट उत्पन्न हुनसक्ने राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
इतर समूहका केही नेताहरूले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै नयाँ दल गठन गरेर अघि बढ्ने तयारीसमेत गरेका थिए । तर सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासँग सम्बन्धित विषयमा पुनरावलोकनको बाटो खुला गरिदिएपछि उनीहरूको रणनीतिमा केही परिवर्तन आएको बताइएको छ ।
अब केन्द्रीय समिति बैठकले इतर समूहको राष्ट्रिय भेलालाई कसरी सम्बोधन गर्ने, पार्टीभित्रको विवाद कसरी व्यवस्थापन गर्ने र आगामी महाधिवेशनको तयारीलाई कुन दिशामा अघि बढाउने भन्ने विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने देखिएको छ ।
एकातिर इतर समूहको राष्ट्रिय भेला नजिकिँदैछ, अर्कोतिर सर्वोच्चको निर्णयले नयाँ राजनीतिक बाटो खोलेको छ ।






































