सुनसरी । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको अनुसन्धान प्रहरीले थप तीव्र बनाएको छ । घटनामा संलग्नताको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले बयान तथा प्रमाण संकलन अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा राखेर घटनामा उनीहरूको भूमिका र संलग्नताको प्रकृतिबारे अनुसन्धान भइरहेको छ । डीएसपी चन्द्रबहादुर खड्काले घटनासँग सम्बन्धित तथ्य खुलाउन पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको बताए ।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान भने सार्वजनिक गरेको छैन । अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भए थप कानुनी प्रक्रिया अघि बढाइने र घटनामा अन्य व्यक्तिको भूमिका खुलेमा थप पक्राउसमेत हुन सक्ने प्रहरीले जनाएको छ ।
कप्तानगञ्जमा केही समयअघि सामान्य विवादले उग्र रूप लिएपछि हिंसात्मक अवस्था सिर्जना भएको थियो । घटनामा तीन जनाको मृत्यु र करिब ४० जना घाइते भएका थिए । हिंसापछि क्षेत्रमा तनाव बढेपछि घटनाको कारण र जिम्मेवार व्यक्तिको पहिचानलाई लिएर सुरक्षा निकायले अनुसन्धान अघि बढाएको हो ।
अहिले प्रहरीले घटनाको सुरुवातदेखि हिंसा भड्किएको अवस्थासम्मका गतिविधिलाई जोडेर अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट प्राप्त प्रमाण, प्रत्यक्षदर्शीको भनाइ र पक्राउ परेकाहरूको बयानलाई आधार बनाएर विवाद कसरी हिंसामा परिणत भयो र त्यसमा कस–कसको भूमिका थियो भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ ।
प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले तत्काल पक्राउ परेकाहरूलाई दोषीका रूपमा निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ । अनुसन्धान अघि बढ्दै जाँदा घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको भूमिका क्रमशः खुल्ने प्रहरीको भनाइ छ ।






































