काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकार प्राप्तिको संघर्ष अझै पूरा नभएको बताएका छन्। विश्व आदिवासी जनजाति दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्राप्त अधिकारको रक्षा गर्दै बाँकी अधिकारका लागि संघर्षलाई थप सशक्त बनाउनुपर्ने बताएका हुन्। प्रचण्डले पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष तथा बलिदानबाट प्राप्त समावेशी, समानुपातिक र सहभागितामूलक अधिकारको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।
उनले अधिकारको प्रश्नलाई कुनै एउटा समुदायको विषयमा सीमित नराखी समग्र लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय एकतासँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन्। प्रचण्डका अनुसार नेपालको विविधतालाई सम्मान नगरी बलियो राष्ट्रिय एकता निर्माण गर्न सकिँदैन। सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायलाई समान अधिकार, सम्मान र राज्यका संरचनामा न्यायपूर्ण प्रतिनिधित्व दिनुपर्ने उनको जोड छ।
सबै समुदायको सम्मानपूर्ण सहभागिता सुनिश्चित भए मात्रै समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण सम्भव हुने उनले बताएका छन्। विगतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि राजनीतिक तथा सामाजिक संघर्षलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । यस्तै उनले नागरिकले पाएको अधिकार जोगाउँदै बाँकी अधिकारका लागि संघर्षलाई अझ बलियो बनाउने र सबै समुदायको समान सम्मान तथा सहभागिताबाट सुदृढ राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।






































