इलाम । अदुवाको बजार मूल्यमा सुधार आएपछि इलामका किसान व्यावसायिक खेती विस्तारतर्फ आकर्षित भएका छन् । गत वर्ष उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाएपछि यस वर्ष किसानले खेतीको क्षेत्रफल बढाउँदै आम्दानीसमेत बढाउने लक्ष्य लिएका छन् । माङसेबुङ–२ का देशराज लिम्बूले गत वर्ष पाँच रोपनीमा ९० मन अदुवा उत्पादन गरी ३ लाख १५ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

प्रतिमन ४ हजार ५ सय रुपैयाँमा अदुवा बिक्री गरेका उनले यस वर्ष २० मन बीउ रोपेका छन् । उत्पादन करिब १२० मन पुग्ने अनुमान गर्दै मूल्य पोहोरकै हाराहारीमा रहे ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ । सोही ठाउँका राजकुमार राईले गत वर्ष ५० मन अदुवा प्रतिमन ४ हजार रुपैयाँका दरले बिक्री गरेर २ लाख रुपैयाँभन्दा बढी कमाए । अदुवाको आम्दानीबाट घरखर्च र छोराछोरीको पढाइ धान्दै आएका उनले यस वर्ष खेती विस्तार गरेका छन् । माङसेबुङ–३ का तेजु राईले पनि १० रोपनीमा ६० मन बीउ लगाएर व्यावसायिक अदुवाखेती सुरु गरेका छन् ।

अदुवाबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कतिपय किसान धान तथा अन्य खाद्यान्न बाली छाडेर अदुवाखेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय अदुवाको मूल्यसमेत बढेको छ । मुख्य उत्पादनका बेला प्रतिमन ४ हजार ५ सय रुपैयाँसम्म रहेको मूल्य अहिले माउ अदुवामा ७ हजार रुपैयाँसम्म पुगेको छ । झापाको धुलाबारीमा माउ अदुवा प्रतिमन ७ हजार र इलाममा ६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको स्थानीय व्यापारीले बताएका छन् । बच्चा र माउ अदुवा छुट्टाछुट्टै बिक्री गर्न सकिने भएकाले किसानले एउटै खेतीबाट थप आम्दानी लिन सक्ने अवस्था बनेको छ । कृषि ज्ञान केन्द्रका अनुसार इलाममा हाल ३ हजार २ सय २१ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ ।

गत वर्ष जिल्लामा ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । इलामको अदुवा बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी र हर्कटेललगायतका बजारमा बिक्री हुने गरेको छ । बजार मूल्यले साथ दिएपछि अदुवा इलामका किसानका लागि सामान्य खेतीबाट आम्दानीको आकर्षक स्रोत बन्दै गएको छ ।