काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले शिवपुर सबस्टेशनमा आएको प्राविधिक समस्यापछि प्रभावित विद्युत् प्रणाली पूर्ण रूपमा पुनःसञ्चालनमा आएको जनाएको छ।

शनिबार राति भएको प्राविधिक अवरोधका कारण केही समय पश्चिम तथा मध्य क्षेत्रको विद्युत् आपूर्तिमा असर परेको थियो।प्राधिकरणका अनुसार मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत जम्पर कन्डक्टर चुडिएपछि विद्युत् प्रणालीमा समस्या देखिएको थियो। उक्त घटनाले प्रसारण लाइनमा अतिरिक्त भार सिर्जना हुँदा केही प्रसारण सर्किट स्वतः बन्द भएका थिए, जसका कारण विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको थियो।

घटनालगत्तै प्राधिकरणले प्राविधिक टोली परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत सुरु गरेको थियो। राति नै आवश्यक मर्मत सम्पन्न गरी पथलैया–चपुर १३२ केभी प्रसारण लाइनमार्फत मध्य तथा प्रमुख लोड क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुरु गरिएको थियो।

त्यसैगरी बुटवल र कोहलपुर क्षेत्रमा सम्बन्धित आइल्यान्ड ग्रिडमार्फत सेवा सञ्चालनमा ल्याइएको र त्यसपछि हेटौंडा–कुलेखानी–स्युचाटार ६६ केभी तथा हेटौंडा–मातातीर्थ १३२ केभी करिडोरमार्फत सम्पूर्ण विद्युत् प्रणाली क्रमशः सामान्य अवस्थामा फर्काइएको प्राधिकरणले जनाएको छ।

आकस्मिक प्राविधिक समस्याका कारण केही समय विद्युत् सेवा प्रभावित हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति प्राधिकरणले दुःख व्यक्त गर्दै भविष्यमा यस्ता समस्या न्यून गर्न आवश्यक प्राविधिक सुधारलाई निरन्तरता दिने जनाएको छ।