काठमाडौं / काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा अव्यवस्थित रूपमा भइरहेको प्लटिङले भविष्यमा बस्ती विकास र भौतिक संरचनाको सुरक्षामाथि गम्भीर चुनौती थप्ने देखिएको छ।

आवश्यक प्राविधिक अध्ययन तथा भू–उपयोग योजनाबिनै जग्गा टुक्र्याएर बिक्री गर्ने प्रवृत्ति बढ्दै जाँदा जोखिम पनि बढ्न थालेको हो। पछिल्ला वर्षहरूमा उपत्यका वरपरका विभिन्न करिडोरमा कृषि तथा खुला जमिनलाई प्लटिङ गरी घडेरीका रूपमा बिक्री गर्ने क्रम तीव्र बनेको छ। यसका लागि प्राकृतिक रूपमा कमजोर जमिनमा माटो भर्ने, जमिन सम्याउने तथा भू–स्वरूप परिवर्तन गर्ने कार्य भइरहेको छ।

विज्ञहरूका अनुसार यस्ता क्षेत्रमा पर्याप्त भू–प्राविधिक परीक्षणबिनै घर तथा अन्य संरचना निर्माण गरिए भविष्यमा भासिने, चर्किने वा अन्य प्राकृतिक जोखिमको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। साथै, अव्यवस्थित प्लटिङले खेतीयोग्य जमिनको संरक्षणमा समेत नकारात्मक असर पारिरहेको उनीहरूको भनाइ छ।

उनीहरूले दीर्घकालीन सुरक्षित बस्ती विकासका लागि भू–उपयोग नीतिको प्रभावकारी कार्यान्वयन, प्राविधिक मापदण्डको कडाइका साथ पालना तथा प्लटिङ प्रक्रियामा नियमित अनुगमन आवश्यक रहेको बताएका छन्।