काठमाडौं । बजारमा ग्यासको अभाव देखिएपछि सरकारले कालोबजारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी थालेको छ। भारतबाट ग्यास आयातमा समस्या नरहेको अवस्थामा पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री भइरहेको गुनासो बढेपछि गृह र उद्योग मन्त्रालयको समन्वयमा यस्तो कदम चालिएको हो। उद्योगमन्त्री गौरी यादवले आपूर्ति सहज हुँदाहुँदै उपभोक्ता ग्यासका लागि लाइन बस्नुपर्ने अवस्था र महँगो मूल्यमा बिक्री भइरहेको गुनासोबारे चासो लिएपछि गृहमन्त्री सुधन गुरूङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन्। मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरूङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए। त्यसअनुसार आइतबार बिहानदेखि नै उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटिएर डिपोमा ग्यासको मौज्दात, बिक्री वितरण र मूल्यको अवस्थाबारे निगरानी गरिरहेका छन्। सरकारले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने जनाएको छ। उपभोक्ताले ग्यास नपाउने तर डिपोमा मौज्दात लुकाएर राख्ने वा बढी मूल्यमा बिक्री गर्ने प्रवृत्तिमाथि विशेष निगरानी गरिने भएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचना र प्रमाणका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी विस्तार गर्ने गृह मन्त्रालयको तयारी छ। सरकारले आपूर्ति सहज हुँदाहुँदै अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै कालोबजारी नियन्त्रणका लागि अनुगमन थप कडा बनाउने जनाएको छ। ग्यासको अभाव वास्तविक हो कि कृत्रिम, त्यसको छानबिन गर्न सरकार अब डिपोभित्रै पुगेर निगरानी गर्न थालेको छ।