काठमाडौं / काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रस्थित वनकाली धर्मशालालाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन पर्खाल तथा परिसर निर्माणको काम अघि बढाएको छ।
आइतबार आयोजित शिलान्यास कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धार्मिक सम्पदाको संरक्षणसँगै दर्शनार्थीको सुविधालाई प्राथमिकतामा राखेर निर्माण कार्य सुरु गरिएको बताइन्। उनले पशुपति क्षेत्र धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएकाले त्यहाँ रहेका धर्मशालाको संरक्षण र स्तरोन्नति आवश्यक रहेको उल्लेख गरिन्।
उनका अनुसार देशका विभिन्न स्थानबाट आउने श्रद्धालुका लागि धर्मशालाले सहज बसोबासको व्यवस्था गर्ने भएकाले यसको पूर्वाधार सुधार अपरिहार्य छ। डंगोलले निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्न महानगर प्रतिबद्ध रहेको बताउँदै सम्भव भएसम्म आगामी चैत महिनाभित्रै काम सक्ने लक्ष्य राखिएको जानकारी दिइन्।
उनले समयमै गुणस्तरीय निर्माण सम्पन्न गरी दर्शनार्थीलाई थप सहज र सुरक्षित वातावरण उपलब्ध गराइने विश्वास व्यक्त गरिन्। महानगरपालिकाले वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माण योजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ।
निर्माण सम्पन्न भएपछि पशुपति दर्शनका लागि आउने श्रद्धालु तथा पर्यटकले थप व्यवस्थित र सुरक्षित वातावरणमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ।






































