काठमाडौं । नेपाली कांग्रेसभित्र एकता र महाधिवेशनलाई लिएर बहस चर्किरहेका बेला महामन्त्री प्रदीप पौडेलले पार्टी एकता जोगाउन आफू पद त्याग्नसमेत तयार रहेको बताएका छन् । उनले व्यक्तिगत पदभन्दा कांग्रेसको संस्थागत एकता ठूलो भएको सन्देश दिएका हुन् ।

काठमाडौं महानगरपालिका–२६ वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमै तोकिएको समयमा हुने दाबी गरे । महाधिवेशनको विषयमा पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्ने उनको भनाइ छ ।

पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अन्योलमा पार्ने प्रयास भइरहेको दाबी गर्दै उनले नेता–कार्यकर्तालाई त्यसप्रति सचेत रहन आग्रह गरे । कांग्रेसभित्रको विवादलाई थप चर्काउनेभन्दा पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माण गर्नुपर्ने उनको जोड थियो ।

पौडेलले सभापतिको पदलाई पार्टीको संस्थागत नेतृत्वसँग जोड्दै कुनै पनि व्यक्ति संस्थाभन्दा माथि हुन नसक्ने बताए । आफूभन्दा वरिष्ठ नेताहरूको राजनीतिक योगदान धेरै रहेको स्वीकार गर्दै उनले पार्टी एकताका लागि आवश्यक परे महामन्त्री पदसमेत छाड्न तयार रहेको स्पष्ट घोषणा गरे ।

उनको भनाइमा पदका लागि संघर्ष गर्नुभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनु अहिलेको प्राथमिकता हो ।

पौडेलले कांग्रेसलाई डिजिटल माध्यममा समेत सक्रिय बनाउँदै क्रियाशील सदस्यबाटै स्थानीय तहका उम्मेदवार छनोट गर्ने प्रणाली विकास गर्ने योजना रहेको बताए ।