काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र महाधिवेशनलाई लिएर चर्किएको विवाद तत्काल पार्टी विभाजनतर्फ नजाने संकेत देखिएको छ । कांग्रेस नेता डा. प्रकाशशरण महतले अदालतको पछिल्लो प्रक्रियाले पार्टी विभाजनको सम्भावना रोकिएको र देउवा नेतृत्वको कार्यसमिति पुनर्बहाली हुने सम्भावनासमेत खुलेको बताएका छन् । नुवाकोटमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महतले अहिलेको प्राथमिकता पार्टी फुटाउने नभई निष्पक्ष संरचनामार्फत महाधिवेशन सम्पन्न गर्नु रहेको बताए ।
उनका अनुसार पार्टीका निर्वाचन, अनुशासन, क्रियाशील सदस्यता र विधानसम्बन्धी संरचनामा सबै पक्षको प्रतिनिधित्व सुनिश्चित भए नेतृत्वप्रति उठेका आशंका कम गर्न सकिन्छ । एक पक्षले मात्र निर्णय गर्ने अवस्था अन्त्य गर्न निष्पक्ष संयन्त्र आवश्यक रहेको उनको जोड थियो ।
महतले कांग्रेस विभाजन गर्न खोजिएको भन्ने प्रचारलाई अस्वीकार गर्दै आफूहरू पार्टीकै विचार, सिद्धान्त र संगठनलाई बलियो बनाउने अभियानमा रहेको दाबी गरे । अदालतको निर्णय चित्त नबुझे पनि कानुनी प्रक्रियालाई स्वीकार गर्दै अघि बढ्ने उनको भनाइ छ ।
पछिल्लो अदालती प्रक्रियाले कांग्रेसको नेतृत्वसम्बन्धी विवादमा नयाँ बाटो खुलेको उनको दाबी छ । अदालतको अन्तिम निर्णयबाट १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति पुनर्बहाली भए पनि वा विशेष महाधिवेशनबाट आएको नेतृत्व कायम रहे पनि सबै पक्षलाई समेटेर आगामी महाधिवेशन गर्न सकिने सम्भावना रहेको उनले बताए ।
यसैबीच महतले साउन २९, ३० र ३१ गते हुने राष्ट्रिय भेलालाई पार्टीभित्रको वैचारिक तथा सांगठनिक बहसको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका छन् । भेलामा कांग्रेसको विचार, सिद्धान्त, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सरकारको काम, संगठन सञ्चालन तथा विधान संशोधनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।
महतले सभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेको भन्दै कार्यकर्तालाई स्वागतका लागि उपस्थित हुनसमेत आह्वान गरेका छन् ।






































